तारा खेलः मुस्ताङको परम्परा मात्र नभई परिचय पनि बन्दै

  • सुशीलबाबु थकाली, मुस्ताङको घरपझोङ गाउँपालिका २ छैरोमा जारी ताराखेलले समग्र मुस्ताङलाई नै रौनकमा डुबाएको छ । गत साउन २८ गतेदेखि सुरु भएको ताराखेलमा स्थानीय युवाहरुले करिब ८ दिनसम्म मजा लिन पाउने छन् ।

प्रायजसो सबै स्थानमा आयोजना भैरहने तारा खेलको महत्व मुस्ताङ जिल्लामा पनि उत्तिकै रहेको छ । बिशेष गरि मुस्ताङमा बर्ष भरिनै चलिरहने तारा खेल विभिन्न स्थानमा आयोजना गरिदै आएको छ । सबैभन्दा बढी मुस्ताङको घरपझोङ र थासाङ गाउपालिकामा आयोजना गरिदै आएको यस खेललाई पछिल्लो समय यहाँका स्थानीय युवाहरुले पर्वकैरुपमा मनाउने गरेका छन ।

आजभन्दा १०/१२ बर्ष अघि सामान्य रुपमा लिइदै आएको यस खेललाई स्थानीय युवाहरुले अहिले आयर व्यवसायिक ढाँचा दिने जमर्को गरेका छन् । सामान्य धनुषवाण र तिरको प्रयोग गर्दै आएका पुरानो पुस्ताको खेल अहिलेका युवाहरुले पनि सिकेर आफ्नो कला प्रस्तुत गर्न पाएकोमा खुसीको अनुभूति भएको घरपझोङ २ मार्फाका युवा व्यवसायी लेलिन लालचन बताउछन् ।

यस्तै तारा खेलका अर्का अगुवा थासाङ गाउँपालिका १ का स्थानीय हरि थकालीले तारा खेललाई व्यवस्थित र व्यवसायीक रुपमा अगाडि लैजान आवश्यक भएको बताउछन् ।

उता घरपझोङ गाउँपालिका २ का पूर्व गाउँ मुखिया बिनोद थकालीले गाउँमा बर्ष भरी दुई पटक मात्र सञ्चानल हुने यस खेललाई व्यवस्थित रुपमा लैजान अझै केहि समय लाग्ने बताउछन् । हालको तारा खेल्ने स्थानलाई धेरै नै परिमार्जित गर्नुपर्ने उनको धारणा छ ।

मुस्ताङलाई चिनाउने महत्वपूर्ण माध्यम बन्दै आएको तारा खेल मुस्ताङको परम्परा पनि हो । आर्चरीको नामले देश विदेशमा ख्याति कमाएको र सबै खालको अन्तर्राष्ट्रिय खेल महोत्सवमा समावेश गरिएको तारा खेललाई मुस्ताङवासीले आफ्नै शैलीमा संरक्षण गर्दै आएका छन् ।