बेनीको सडकमा क्याट आइज र जेब्रा क्रसिङको रेखाङ्कन (फोटो फिचर)

सवारी दुर्घटना न्यूनिकरण गर्न सदरमुकाम बेनीमा पहिलोपटक पैदल यात्रुले बाटो काट्ने जेब्रा क्रसिङको रेखाङ्कन सहित आवश्यक ट्राफिक ब्यवस्थापन गरिएको छ ।बेनी नगरपालिका–८ ले बेनीबजार भित्र पैदलयात्रीलाई सुरक्षित यात्रा गर्न जेब्रा क्रसिङ, सडकको दुवै ठाउँमा रातको समयमा बल्ने बत्ती (क्याट आइज), बीच सडकमा लाईन र एउटा ऐना राखेको हो ।

वडा कार्यालयले ट्राफिक ब्यवस्थापनमा विनियोजित दुईलाख रुपैयाँ बजेटबाट न्युरोड स्थित प्रभु बैंक देखि क्याम्पसचोक सम्म चार सय मिटर सडकमा ट्राफिक लाईन निमार्ण, न्यूरोडको बुद्ध सहकारी, संजिविनी हस्पिटल, क्याम्पसचोक र अस्पताल चोकमा जेब्रा क्रसिङ,२ सय ६२ वटा क्याट आइज, रोड मार्किङ्ग र अस्पतालचोकको घुम्तीमा विपरित दिशाबाट आइरहेको सवारीलाई देख्न सकिने ऐना राखिएको बेनपा–८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले बताए ।

आवश्यक परेका ठाउँमा थप्दै जानेछौ,‘धेरै दुर्घटना हुनसक्ने ठाउँमा राखिएको छ’ बराईलीले भने ।बेनी नगरपालिकाका प्रबक्ता समेत रहेका बराईलीका अनुसार कालिपुल बसपार्कबाट बेनी बजारमा प्रवेश गर्ने क्रममा अस्पतालचोकको घुम्तीमा ट्राफिक प्रहरीको अनुरोधमा राखिएको ऐनाले दुर्घटना न्यूनिकरणमा ठूलो मदत गर्ने बताए ।साँधुरो सडकमा पैदलयात्री र सवारीसाधन आवतजावत गर्दा विगतमा बजार क्षेत्रमा दुर्घटना हुने गरेको थियो ।

वडा कार्यालयले आगामी आवामा समेत जेब्रा क्रसिङ मर्मत, ऐना थप गर्ने सडकमै जनचेतनामुलक कार्यक्रम गर्ने जनाएको छ । यता बेनपा–७ले हुलाकचोकमा दुईवटा र विरेन्द्रचोकमा १ वटा जेब्रा क्रसिङ बनाएको छ । चालु आवामा सिमित बजेट भएका कारण बजेटले पुग्ने गरी विस्तार गरिएको वडा कार्यालयले जनाएको छ । बजार क्षेत्रमा रहेको ब्रेकर हटाइएपछि हुलाकचोक देखी क्याम्पसचोकसम्म बालबालिका दुर्घटनामा पर्ने गरेका थिए ।

जिल्ला ट्रफिक कार्यलय म्याग्दीका प्रमुख शिवप्रसाद पाठकले दुर्घटना न्यूनिकरणमा बजार क्षेत्रमा आवश्यक पर्ने ट्राफिक लाईन सहितका संरचनाले दुर्घटना न्यूनिकरण गर्ने बताए । उनले सडकमा बनाइएको जेब्रा क्रसिङमा पैदलयात्रीले आवतजावत गर्दा सवारीसाधनले सावधानी अपनाउनुपर्ने लगाएतका जनचेतनामुलक कार्यक्रम आवश्यकता रहेको बताए । जडान गरिएका र बनाइएका लाईनको समय समयमा पेन्ट गर्नुपर्ने बताए । ट्राफिक कार्यालयले चालकसंगै नगरपालिका भित्रका साथै गाउँपालिकास्तरमा समेत पुगेर जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।