म्याग्दी महोत्सवः एकैदिन दुईलाख ४ हजारको टिकट विक्री

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुन गैरहेको छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलामा अग्रिम टिकट विक्री सुरू भएको छ ।

महोत्सवको अवलोकन गर्न आउने दर्शकलाई लक्षित गरी सुरू गरिएको टिकट विक्रीको क्रममा संघका कोषाध्यक्ष अमृत बानियाँ, कार्यसमिति सदस्य हुमनाथ सापकोटामार्फत दुई हजार दरको ५२ वटा टिकट संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य मार्फत विक्री गरिएको संघका द्धितिय उपाध्यक्ष एवम् टिकट विक्री उपसमितिका संयोजक राजेश शाक्यले बताए ।‘टिकट विक्री सुरु भएको छ । दर्शकलाई सहज हुने गरी अग्रमी टिकट विक्री सुरु गरेका छौ’ शाक्यले भने ।

उनले बेनीबजारका साथै जिल्ला बाहिरका संघसंस्था र ब्यक्तिलाई २ हजार र १ हजार दरको टिकट विक्री सुरू गरिएको बताए ।उनले महोत्सवमा ३० लाखको टिकट विक्री गर्ने योजना रहेको बताए ।२ हजार दरका २ सय वटा टिकट दुईतिन दिनभित्र विक्री गर्ने लक्ष्य राखिएको छ । १ हजार दरको टिकट समेत घरदैलो, विक्री गरिने छ भने ५० रुपैयाँलाई टिकट विक्री केन्द्रबाटै विक्री गरिने जनाइएको छ । महोत्सवको दिन नजिक आउन थालेपछि तयारीलाई समेत तिब्रता दिइएको छ ।

‘महोत्सवको तयारीलाई अन्तिम रुप दिने प्रयास भइरहेको छ । सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छौ’ अध्यक्ष एवम् मुल संयोजक कर्माचार्यले भने । उनले महोत्सवमा दर्शककलाई आर्कषित र सहज रुपमा अवलोकनको ब्यवस्था मिलाउने बताए । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन पवद्र्धन गरौं’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा छैटौं चरणको म्याग्दी महोत्सव आयोजना गरिएको छ । यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा जिल्लाको कृषि उपज, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र म्याग्दीमा रहेको जडिबुटीको प्रवद्र्धनका लागि जोड दिइने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवस्थलमा १८० ओटा विभिन्न व्यापारिक स्टलहरु रहनेछन् । १० दिनसम्म चल्ने महोत्सवमा १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरुलाई म्याग्दी जिल्लामा भिœयाउने लक्ष्य राखिएको छ भने करिब ६ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु तथा सेवाहरुको स्टल प्रर्दशनी, नगर एवं गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकनृत्यलगायत प्रतियोगिता रहेका छन् ।

जिल्लास्थित विभिन्न जातजातिहरुको झाँकी एवं भेषभूषा प्रर्दशनी गरिने भएको छ । त्यस्तै लोकदोहोरीगीत प्रतियोगिता, लाईभ दोहोरी कार्यक्रम, बालउद्यान, चिडियाघर, रमाइलो मेला, स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुबाट साङ्गीतिक एवं सांस्कृतिक र प्रहशन प्रस्तुत, परम्परागत स्थानीय कला र संस्कृतिको प्रदर्शन र प्रस्तुतीलगायत रहेको छ ।