महोत्सवमा कृषि, पर्यटन र जडिबुटीलाई प्राथमिकता

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुन गैरहेको महोत्सवमा जिल्लामा उत्पादित कृषि उपज, पर्यटन र जडिबुटीलाई मुख्य प्राथमिकता दिइने भएको छ । छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलामा कृषि, पर्यटन र जडिबुटीको पवद्र्धन गर्न लागिएको हो ।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन पवद्र्धन गरौं’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा छैटौं चरणको म्याग्दी महोत्सव आयोजना गरिएको छ । यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा जिल्लाको कृषि उपज, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र म्याग्दीमा रहेको जडिबुटीको प्रवद्र्धनका लागि जोड दिइने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा जिल्लामा उत्पादन हुँदै आइरहेको लोकल जातको सिमी, भटमास, भाङ्गो, बदाम, मुला, धजरा, सिस्नो पाउडर, आलु, जौको पिठो, फापर, जुनेली मकै, टिम्मुरलगायत स्थानीय उत्पादनलाई प्रचारप्रसार, प्रदर्शनी र बिक्रीवितरण गरिने भएको छ । जिल्ला वन कार्यालयसँगको समन्वयमा जिल्लाको विभिन्न सामुदायिक वन तथा धौलागिरि हिमालय क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔंले, सतुवालगायतका स्वास्थ्यबद्र्धक एवं बहुमुल्य जडिबुटीहरुको पनि प्रदर्शनी गरिने म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो ।

महोत्सवमा जिल्लाको पर्यटन पवद्र्धन गर्न स्थानीयस्तरमा हुने उत्पादनहरुको बिक्रीवितरण र प्रदर्शनी गरिने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल संयोजक उत्तमकुमार कर्माचार्यले बताउनुभयो । उहाँले गूर्जामा रहेको चिप्लो तथा रुमको स्लेट ढुङ्गा, राखुको खरी, अल्लो पुवा र यसबाट उत्पादित सामाग्रीहरुलाई महोत्सवमा प्राथमिकता दिइने बताउनुभयो । म्याग्दी जिल्ला प्राकृतिक सम्पदा, धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको हुँदा महोत्सवमा ऐतिहासिक, धार्मिक र पर्यटकीय एवं रमणीयस्थलहरुको प्रचारप्रसार समेत गरिने उहाँको भनाई छ ।

कालीगण्डकी नदीमा जलेश्वरदेखि म्याग्दीकालीको दोभानसम्म ¥याफ्टिङ सञ्चालन गरिने अध्यक्ष कर्माचार्यले बताउनुभयो।
जिल्ला कृषि विकास कार्यालयसँगको सहकार्यमा व्यावसायिक माछापालनको प्रदर्शनी पनि गरिने उहाँले बताउनुभयो । महोत्सवमा धार्मिक र पर्यटकीय क्षेत्रहरुको फोटो प्रदर्शनी हुने भएको छ । यसैबीच महोत्सवको अवसरमा नजिकका पर्यटकीय क्षेत्रहरुको अवलोकनका लागि सहुलियतदरमा यातायातको व्यवस्था गरिएको अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

महोत्सवस्थलमा १८० ओटा विभिन्न व्यापारिक स्टलहरु रहनेछन् भने महिला उद्यमीहरुको उत्पादनको प्रदर्शनी र बिक्री वितरणका लागि निःशुल्क रुपमा स्टल उपलब्ध गराइने छ । १० दिनसम्म चल्ने महोत्सवमा १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरुलाई म्याग्दी जिल्लामा भिœयाउने लक्ष्य राखिएको छ भने करिब ६ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु तथा सेवाहरुको स्टल प्रर्दशनी, नगर एवं गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकनृत्यलगायत प्रतियोगिता रहेका छन् । जिल्लास्थित विभिन्न जातजातिहरुको झाँकी एवं भेषभूषा प्रर्दशनी गरिने भएको छ । त्यस्तै लोकदोहोरीगीत प्रतियोगिता, लाईभ दोहोरी कार्यक्रम, बालउद्यान, चिडियाघर, रमाइलो मेला, स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुबाट साङ्गीतिक एवं सांस्कृतिक र प्रहशन प्रस्तुत, परम्परागत स्थानीय कला र संस्कृतिको प्रदर्शन र प्रस्तुतीलगायत रहेको छ ।