सांसदको मतदाता भेटघाट कार्यक्रम जारी

मंसिर १० गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनबाट निर्वाचित म्याग्दी जिल्लाका सांसदहरुले मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । यसैक्रममा शुक्रबार पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा मतदातालाई धन्यवाद र सांसदलाई बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ ।

मतदातालाई धन्यवाद दिँदै प्रतिनिधिसभाका नवनिर्वाचित सांसद भूपेन्द्रबहादुर थापाले दरबाङदेखि माथी देवीस्थान तथा ताकम जोड्ने सडकको स्तरोन्नतिका लागि आफूले पहल गर्ने बताएका छन् । उनले अब देश वामपन्थी नेतृत्वको हातमा पुगेको बताउँदै देशमा रहेका स्रोतसाधनको परिचालन गरी समृद्ध बनाउने र बेराजगारलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नेतर्फ लाग्ने बताए ।

सोही कार्यक्रममा प्रदेशसभा सांसद एवं पूर्वराज्यमन्त्री नरदेवी पुनले दरबाङ–लाम्मेला–तमान जोड्ने सडकको स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने बताएकी छिन् । उनले ग्रामीण क्षेत्रमा रहेका शिक्षा स्वास्थ्यका समस्याको समाधान गर्ने बताउँदै देवीस्थानमा युवाहरुका लागि खेलकुद मैदान निर्माणमा सघाउने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा मालिका गाउँपालिका–७ का वडाध्यक्ष रेशम जुग्जालीले गाउँपालिकामा भएका प्राकृतिक स्रोतसाधनको परिचालन गरी ग्रामीण क्षेत्रको विकासमा केन्द्रीत हुने बताए । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र देवीस्थानका अध्यक्ष रविन्द्र राना, स्थानीय युवा शिव फगामी र नवीन बुढाथोकीले मन्तव्य राखेका थिए । एमाले देवीस्थानका अध्यक्ष कुलबहादुर घर्तीको अध्यक्षता, सचिव डोलेन्द्र फगामीको सञ्चालन र जीवन बुढाको स्वागतमा सम्पन्न कार्यक्रममा जनवादी गीतसङ्गीत र नृत्य प्रस्तुत गरिएको थियो ।