कृषि हाटबजार बन्यो भैंसीगोठ

गोपाल छन्त्याल

कृषि उपज किनबेचका लागि भीडभाड हुनुपर्ने हाटबजार भैंसीगोठ र बधशालामा परिणत भएको छ । जिल्ला सदरमुकाम बेनीको खुल्लामञ्चस्थित बहुउद्देश्यीय मैदानमा २०६७ सालदेखि सञ्चालन हँदै आएको हाटबजार तीन वर्षयता पशुगोठ र बधशालामा परिणत भएको हो । हाटका लागि बनाइएको टहरामा दिनहुँ भंसी बाँध्ने र नजिकै रहेको अर्को भवनबाट बध गरिँदै आएको छ ।

नजिक गरिएको वधशालाका कारण एक मात्र खेलमैदान खुल्लामञ्चसहित बालमन्दिर चोक क्षेत्रमा दुर्गन्ध फैलिएको छ । हाटबजार व्यवस्थित नबन्दा व्यवसायीले जथाभावी पशुचौपाया राख्ने र सोहीस्थानमै बधगर्दा अत्यधिक दुर्गन्ध फैलिएको स्थानीय विक्रम श्रेष्ठले बताए । हाटबजार नजिकै जिल्ला प्रहरी कार्यालय छ । ‘प्रहरी सहित नगरपालिका, कृषि र पशु सेवा कार्यालयलाई हामीले यहाँको दुर्गन्ध र अस्तव्यस्तता बारे निरन्तर जानकारी गरायां ।

हाट नचले पनि भंसीगोठ र बधशाला बनाउनु भएन’, उनले भने, ‘तर तीन वर्षदेखि हाम्रो मागलाई बेवास्ता गरिँदै आएको छ ।’ ग्रामीण भेगबाट कृषि उपज लिएर आउने किसानले डोकोमा व्यापारी खोज्दै हिड्नुपर्ने र उचित मूल्य समेत नपाउने बाध्यतालाई हटाउन कृषि विकास कार्यालय, किसान समूह र व्यापारीको सहकार्यमा सुरु गरिएको हाटबजारले चार वर्षसम्म निरन्तरता पाए पनि त्यसयता बन्द भएको छ । हाटबजारका लागि बनाइएको टहराका लागि कृषि विकास कार्यालयसहित गैरसरकारी संस्था सहमति, लघुउद्यम विकास कार्यक्रम, धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डीसीआरडीसी)ले दुई÷दुई लाख र तत्कालीन जिल्ला विकास समितिले एक लाख ५० हजार गरी १९ लाख रुपैयाँ लगानी भएको छ ।

हाटबजारमा सस्तो मूल्यमा तरकारी र अन्य सामान पाउने गरे पनि व्यापारीकै असहयोगका कारण बन्द भएको बालमन्दिर टोल सुधार समितिका संयोजक एवं स्थानीय ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । ‘हाटबजार त बन्द भयो नै यहाँ गाईभैंसी बाध्न किन दिएको ? बधशालालाई किन व्यवस्थित गरिएन? ’, उनले भने, ‘यहाँको फोहोर व्यवस्थापन भएन भने यहाँको संरचना नै भत्काइदिन्छौं ।’ बेनी र असापासका क्षेत्रका कृषकले उत्पादन गरेको तरकारी, फलफूल, पशुजन्य वस्तुको बजारीकरण गर्ने तथा उपभोक्ताले उत्पादकबाट सीधै खरिद गर्न पाउने सुबिधाका लागि प्रत्येक शनिबार हाटबजार सञ्चालन हँदै आएको थियो ।

 

हाटका लागि बनाइएको टहरामा दिनहुँ भंसी बाँध्ने र नजिकै रहेको अर्को भवनबाट बध गरिँदै आएको छ ।

किसानले सामान ल्याउन छाड्नु, शनिबार बजारका पसल खुल्नु, उपभोक्ता सचेत र कृषक जागरुक नहुनु, बिक्री नभएको सामानको व्यवस्थापन गर्न नसक्दा हाटबजार सञ्चालनमा समस्या भएको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताए । सुरुमा हाटबजारमा राम्रो ब्यापार हुने गरेको थियो । धेरै बजारबासी सामान किन्न हाटबजारमा पुग्ने गरेका थिए । कृषकले तरकारी, च्याउ, टुसादेखि खसी कुखुरा बेच्न हाटबजार आउँथे ।

‘हाटमा चहलपहल बढेपछि बजारका तरकारी तथा फलफूल ब्यवसायीले किसानलाई असहयोग गरे, किसानलाई बाटो मै व्यापारीले रोक्ने काम गरे, त्यसलाई किसानले पनि चिर्न सकेन’, कार्कीले भने, ‘अहिले किसान पनि हाट चाहिने रहेछ भन्ने निस्कर्षमा पुगेका छन्, सबै निकायसँग समन्वय गरेर फेरि सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’ जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत भोजबहादुर थापाले हाटबजार सञ्चालनका लागि सबै निकायबीच समन्वयको अभाव रहेको बताए । ‘बजार राम्रै चल्छ तर, सबैलाई जागरुक बनाउनुपर्नेछ, त्यसका लागि बजेट सबै स्थानीय तहमा गएको छ’, उनले भने, ‘अब यो नगरपालिकाको जिम्मा छ ।’

फाईल तस्वीर