अक्षयकोषबाट विद्यार्थीलाई आर्थिक सहयोग

दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थामा स्थापित अक्षयकोषबाट आइतबार एक विद्यार्थीलाई आर्थिक सहयोग भएको छ । सहकारीका शेयर सदस्य स्वर्गीय तेजकुमारी गैरे (रुविना)को नाममा रहेको नगद ५० हजार रुपैयाँको अक्षयकोषको व्याजबाट आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

सदरमुकाम बेनीमा महिलाहरुको आफ्नै व्यवस्थापनमा सञ्चालित सहकारीले स्व. गैरेको प्रथम वार्षिकी पुण्यतिथिको अवसरमा न्यु वेष्ट प्वाइन्ट कलेजमा अध्ययनरत द्वन्द्वपीडित छात्रा ईन्दिरा गैरेलाई नगद ६ हजार १७५ रुपैयाँ सहयोग गरेको जनाएको छ ।

सहकारीका अध्यक्ष ज्योती लामिछाने र स्व. गैरेका पिता मेघनाथ गैरेले ईन्दिरालाई संयुक्तरुपमा नगद हस्तान्तरण गरेका थिए । सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष लामिछानेले शेयर सदस्य स्व. गैरेको सम्झनामा सहकारी र उनकाआफन्तद्वारा अक्षयकोष स्थापना गरी विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोगको थालनी गरिएको जानकारी दिएकी छिन् ।

स्व. गैरेका पिता मेघनाथ गैरेले कलिलै उमेरमा ज्यान गुमाएकी आफ्नी छोरीको सम्झनास्वरुप कोष स्थापना गरिएको बताए।
सहकारीका अध्यक्ष लामिछानेको अध्यक्षता र सहसचिव अम्बिका श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णु गौतम सापकोटाले अक्षयकोष स्थापनाबारे जानकारी गराएकी थिइन् । उक्त कार्यक्रममा सहकारीका पदाधिकारी, सञ्चालक, शेयर सदस्य र कर्मचारी लगायतको सहभागिता रहेको थियो ।