म्याग्दीमा १६ दिने महिला हिंसाविरुद्धको अभियानको समापन

प्रदेशसभामा नवनिर्वाचित सदस्य नरदेवी पुनले अब म्याग्दीका गाउँगाउँमा औपचारिक शिक्षा सञ्चालन गर्नुपर्ने बताएकी छिन्। ‘लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौं, कोही नछुटौं’ भन्ने नारासहित आयोजित १६ दिने महिला हिंसाविरुद्धको अभियानको समापनमा बोल्दै उनले महिला दिदीबहिनीहरुलाई शिक्षित बनाउन औपचारिक शिक्षा सञ्चालनमा जोड दिएकी हुन् ।

नवनिर्वाचित सदस्य पुनले दुर्गम क्षेत्रमा शिक्षाबाट बञ्चित महिलाहरुलाई औपचारिक शिक्षा दिनुपर्ने बताउँदै आफ्नो कार्यकालमा विभिन्न तालिम र उद्यममार्फत महिलाहरुलाई आत्मनिर्भर बनाउने बताइन् । नेकपा एमालेको पूर्व राज्यमन्त्री समेत रहेकी पुनले आर्थिक अवस्था कमजोर हुनु र अशिक्षाको कमीले समाजमा लैङ्गिक, घरेलु तथा महिला हिंसा बढिरहेको भन्दै त्यसको निराकरण गर्न महिलाहरुलाई शिक्षित र आयआर्जनमा सक्रिय बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएकी छिन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले गाउँगाउँमा पुगेर हिंसाविरुद्धको दियो बाल्न महिला अधिकारकर्मीहरुलाई आग्रह गरेका छन् । उनले हिंसाको सुरुवात समाजमा हुने र हिंसाको अन्त्य पनि समाजबाटै गर्न सकिने हुँदा सबै मिलेर लैङ्गिक हिंसा न्युनीकरण गर्नुपर्ने बताए । प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले हिंसा न्युनीकरण गर्नका लागि बालविवाहको अन्त्यका साथै समाजमा जनचेतना फैलाउनुपर्ने बताइन् ।

बेनी नगरपालिकाको कार्यालय, महिला अधिकार मञ्च सचिवालय संस्था मिलन म्याग्दी र महिला मानवअधिकार रक्षक सञ्जालले संयोजन गरेको कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन, मालिक तथा मंगला गाउँपालिकाका उपाध्यक्षद्वय खरमाया बिटालु र सिर्जना केसीको विशेष उपस्थिति रहेको थियो ।

महिला अधिकार मञ्चका अध्यक्ष दिवाकुमारी पुनको अध्यक्षता, सचिव विष्णु गौतम सापकोटाको सञ्चालन र महिला मानवअधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष रेखाकौशल रेग्मीको स्वागतमा सम्पन्न कार्यक्रममा दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्योती लामिछाने र कालीगण्डकी आमा समूहका अध्यक्ष भूनु तिलिजाले मन्तव्य राखेका थिए । बेनीको शहिदस्तम्भचोकबाट सुरु भएको ¥याली हुलाकचोक, न्युरोड, क्याम्पसचोक, गणेशटोल, सङ्गमचोक, बैङ्करोड हुँदै पुनः शहिदस्तम्भचोक पुगेर कोणसभामा परिणत भएको थियो ।