म्याग्दीका तातोपानी कुण्डहरूको महिमा

tftf]kfgLdf g'xfpFb} la/fdL DofUbLsf] tftf]kfgL s'08df g'xfpFb} pkrf/ ug{ cfPsf la/fdL . oxfF Ps xKtf;Dd b}lgs tLg 306f 8'a]df 5fnf tyf xf8 / g;f;DjGwL /f]u lgsf] x'g] hgljZjf; /x]sf] 5 . Tf:jL/ M w'|a;fu/ zdf{, a]gL -DofUbL_, /f;;

(कर्णबहादुर बानियाँ)
जुनसुकै चिजको पनि उचित समयमा निकै ठूलो महिमा चल्ने गर्दछ । जाडो याममा तातो चिजको महिमा बढ्दछ । चिसोका कारण मानिसहरूलाई विभिन्न किसिमका रोगहरूले सताउँदछन् । खासगरेर बाथ, ग्याष्टिक, चर्मरोग तथा नसा सम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको जस्ता रोगहरूले चिसो याममा बढी दःुख दिन्छन् । यी रोगले सताएका बेला तातोपानीको कुण्डमा डुब्न पायो भने निकै राहत महसुस हुन्छ । त्यसकारण जाडो याममा तातोपानीका कुण्डहरूको ठूलो महिमा हुन्छ ।
म्याग्दीका तातोपानी कुण्डहरू
नेपालका विभिन्न नदी किनाराहरूमा तातोपानीका कुण्डहरू छन् । म्याग्दी जिल्लामा पनि काली, म्याग्दी र रघुगङ्गाको किनाराका धेरै ठाउँमा तातोपानीका कुण्डहरू छन् । तातोपानीका कुण्डहरूमा डुब्ने काम विशेष गरेर हिउँद याममा गरिन्छ । ती कुण्डहरूमध्ये यहाँ दग्नाम, भुरुङ, मुदी र सिङ्गा तातोपानीका कुण्डहरूको बारेमा चर्चा गरिन्छ ।
रघुगङ्गा तातोपानी कुण्ड ः रघुगङ्गा गाउँपालिका ५ को दर्मिजा भन्ने गाउँको पुछारमा रघुगङ्गाको किनारमा एक तातोपानीको कुण्ड छ । यो कुण्ड व्यवस्थित गर्नका लागि स्थानीय बासिन्दाहरूले विभिन्न किसिमका पूर्वाधारको विकास गरिरहेका छन् । यो कुण्डमा स्नान गर्नका लागि कुइनेमङ्गले, चिमखोला, झिं, दग्नाम, दोवा, पाखापानी, पात्लेखेत, बेग, राखु पिप्ले र भगवतीका बासिन्दाहरू आउने गर्दछन् । यहाँ माघ महिनादेखि असार महिनाको पहिलो हप्तासम्म स्नान गर्न सकिन्छ ।

भुरुङ–तातोपानी कुण्ड ः अन्नपूर्ण गाउँपालिका २ को भुरुङतातोपानी भन्ने ठाउँमा कालीगण्डकीको किनारमा तातोपानीको कुण्ड छ । यसलाई तप्तकुण्ड भनिन्छ । यसको आसपासमा पाँचवटा तातोपानीका मुहान छन् । स्थानीय मानिसहरूले आफूलाई पायक पर्ने मुहानमा नुहाउने चलन छ तापनि तप्तकुण्डमा स्नान गर्नाले रोगबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । यो कुण्डलाई वरिपरि पर्खाल लगाएर गोलाकार बनाइएको छ । मुक्तिनाथ जाने बाटोमा अवस्थित पर्ने भएकोले भुरुङ–तातोपानीको तप्तकुण्डको विशेष चर्चा गरिन्छ । मुक्तिनाथ जाने तिर्थ यात्री र मुस्ताङको भ्रमणमा आउने पर्यटकहरूले यो तातोपानीको भरपुर उपयोग गर्ने हुनाले यसको महिमा बढेको हो भन्ने कुरामा कुनै द्विविधा छैन । मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमणमा भारतका तिर्थयात्री र तेस्रो मुलुकका पर्यटकहरू प्रशस्त मात्रामा आउने गर्दछन् । तिनीहरूले विश्राम गर्ने स्थलको रूपमा तातोपानी क्षेत्रलाई रोजेको हुनाले यहाँ बाह्रैमास पर्यटकहरू भेटिन्छन् । तातोपानी बजारमा सँधै नै पाश्चात्य मुलुकका मानिसहरू भेटिने हुनाले यो क्षेत्रलाई नेपालको युरोप भन्ने पनि चलन छ ।

मुदीको (फल्तीखेत) तातोपानी कुण्ड ः म्याग्दी जिल्लाको उत्तर–पश्चिममा पर्ने धवलागिरी गाउँपालिका ३ मुदीको बगर भन्ने ठाउँमा म्यग्दीखोलाको किनारमा तातोपानीको कुण्ड छ । यो कुण्ड व्यवस्थित नभएको हुँदा स्थानीय मानिसले मात्र स्नान गर्दछन् । धवलागिरी हिमाल आरोहणका लागि आउने पर्वतारोहीहरूले पनि यसको उपयोग गर्ने गर्दछन् ।

सिङ्गा–तातोपानी कुण्ड ः सदरमुकाम बेनीबजारबाट ९ कि.मि.पश्चिममा बेनी नगरपालिका वडा नं.४ को तातोपानी भन्ने ठाउँमा म्याग्दी नदीको किनारमा तातोपानीको कुण्ड छ । यो कुण्डमा स्नान गर्न सजिलो होस भनेर वरिपरि परखालले घेरेर पोखरी बनाइएको छ । तातोपानी कुण्डमा वि.सं. २०४२ सालभन्दा पहिले आजकाल जस्तो सुविधा थिएन । होटल, लजको व्यवस्था नभएको हुनाले ओडारमा बस्नु पर्दथ्यो । स्थायी स्नान कुण्डको व्यवस्था नभएको हुनाले माघ, फागुन र चैत महिनामा मात्र कुण्डमा डुब्न आउने मानिसको भीड हुन्थ्यो । यातायातको अभावले टाढाटाढाबाट मानिसहरू आउन सक्दैनथे । वि.सं.२०४२ सालमा म्याग्दीका तत्कालीन प्र.जि.अ.को पहलमा तातोपानी व्यवस्थापन समिति गठन भएको भएको थियो तापनि सो समितिले खासै काम गर्न सकेन । तातोपानीको महत्व बढाउन र यसको संरक्षण गर्न वि.सं. २०४५ सालमा प्रबुद्धकुमार शाक्यको अध्यक्षतामा ‘तातोपानी कुण्ड भौतिक सुधार तथा व्यवस्थापन समिति’ गठन भएपछि यो कुण्ड व्यवस्थित तरिकाले सञ्चालन हुँदै आएको छ ।

यो तातोपानी कुण्डको महत्व बढ्दै गएपछि यहाँ स्नान गर्न आउने मानिसहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । त्यसकारण कुण्डमा स्नान गर्न आउने मानिसहरूको चापलाई ख्याल गरी व्यवस्थापन समितिले यो कुण्डको मर्मत र क्षमता विस्तार गरेको छ । व्यवस्थापन समितिले स्नान स्थल, खानेपानी धाराको मरमत, नदी नियन्त्रण, बाटोको व्यवस्था, शौचालयको व्यवस्था, कुण्डमाथि ट्रष्ट राखी छाना राख्ने काम, कुण्ड वरिपरी पर्खाल लगाउने काम, नयाँ कुण्ड निर्माण र समितिको भवन निर्माण र मर्मतका काम गर्दै आएको छ । आजकल यो पोखरीमाथि टिनको छाना बनाइएको हुनाले हिउँद–वर्षा बाह्रैमास कुण्डमा डुब्न सजिलो भएको छ । कुण्डको नजिकमा तातोपानीका धारा पनि छन् । ती धारामा नुहाउने र पिउनेपानी भर्ने गरिन्छ । यो कुण्ड ४१ फिट लम्बाइ र २१ फिट चौडाइको बनेको छ जसमा ४०० जनाले एकैसाथ स्नान गर्न सक्नेछन् । यो तातोपानी कुण्डको तापक्रम पोखरीमा ४५–४८ डिग्रीसेल्सियस र मूलमा ५४–५७ डि.से. सम्म हुन्छ । यो कुण्डमा रोगीको अवस्था हेरेर हप्ता दिनदेखि दुईहप्तासम्म नुहाउने गरिन्छ । यो ठाउँमा फाल्गुण पूर्णिमाको दिनमा मेला लाग्दछ । मेलामा छेलो फाल्ने र अन्य विभिन्न किसिमका खेलको आयोजना गरिएको हुन्छ । फागु पूर्णिमा थकाली जातिको विशेष पर्व भएकोले यो भेकका थकालीहरूले त्यस अवसरमा तारो हान्ने खेल पनि खेल्ने गर्दछन् ।

तातोपानी कुण्डहरूको महिमा
तातोपानीमा गन्धकको गन्ध र बीरेनूनको विशेष किसिमको स्वाद आउँदछ । गन्धक आफैमा एक प्राकृतिक एन्टियोबायोटिक भएको हुनाले एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्न दिंदैन । त्यसकारण तातोपानीकुण्डमा स्नान गर्दा एक जनामा भएको रोग अर्कोमा सर्ने सम्भावना हुँदैन । तातोपानीको कुण्डमा डुब्नाले गाँठा–गुठी परेको, सुन्निएको, बाथ रोग, पेट दुख्ने, फुल्ने र डकार आउने आदि ग्याष्टिक रोग, छालामा आउने विभिन्न चर्मरोग तथा हाड जोर्नी दुख्ने सुनिने नसा सम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको ठाउँमा चिसोका कारण दुख्ने रोग निको हुन्छ ।

तर हाइ ब्लड प्रेसर हुने र विविध कारणले रिङ्गटा लाग्ने व्यक्तिले तातोपानी कुण्डमा स्नान गर्दा विशेष ख्याल गर्नु पर्दछ । म्याग्दीका तातोपाीका कुण्ड मध्ये सिङ्गा–तातोपानी र भुरुङ–तातोपानीको विशेष महिमा छ । सिङ्गा तातोपानीको विशेष महिमा हुनुमा यो ठाउँ म्याग्दीको सदरमुकाम बेनीबजारबाट ९ कि.मि. मात्र टाढा हुनु र घना आवादी भएको क्षेत्रको मध्ये भागमा यो ताल रहनु तथा काठमाडौं र पोखराबाट आउने पर्यटक र पर्वतारोहीहरूको बाटोमा पर्नु हो । यो कुण्ड धवलागिरी र गुर्जा हिमाल आरोहण गर्न आउने पर्वतारोही र ढोरपाटन घुम्न जाने पर्यटकको बाटोमा पर्दछ ।

साथै मोटर बाटो बनेको हुनाले बाग्लुङ, म्याग्दी र पर्वतका धेरैजसो गाउँबाट यो कुण्ड नजिकमा पर्दछ भने कास्की, रूकुम, मुस्ताङ, गुल्मी, स्याङजा, चितवन, काठमाडौंबाट यहाँ आउनका लागि सजिलो छ । साथै खानबस्नका लागि पनि उचित व्यवस्था गरिएको हुनाले यो तातोपानीमा स्नान गर्न आउने मानिसहरूको सङ्रख्या दिनानुदिन बढ्रदै गएको छ । एक रिकर्ड अनुसार सिङ्गा–तातोपानीमा २०६२ साल पौषदेखि २०७२ साल कार्तिक २० गतेसम्ममा अर्थात करिब दश वर्षमा १ लाख ५८ हजार ६ सय ५० जनाले स्नान गरेको देखिन्छ भने आ.व. २०७१÷०७२ मा ४५ लाख आम्दानी भएको पाइन्छ । भुरुङ–तातोपानी कुण्ड मुक्तिनाथ र दामोदरकुण्ड जाने बाटोमा पर्दछ । यो क्षेत्रमा तिर्थयात्री मात्र होइन पर्यटनको लागि आउने भारतीय र तेस्रो मुलुकका मानिसहरू पनि प्रसस्त आउने गर्दछन् । तिनीहरूले यो तातोपानी कुण्डको महिमा देशविदेशमा पु¥याउने गर्दछन् । त्यसैले सिङ्ग–तातोपानी र भुरूङ–तातोपानीको महिमा संसारभर फैलिएको छ ।
निष्कर्ष
तातोपानीका कुण्डहरू रोगीहरूका उपचार स्थल हुन भने पर्यटक, बटुवा र तिर्थयात्रीहरूका लागि विश्राम स्थल हुन । साथै यी प्राकृतिक रूपमा अनुपम सौन्दर्यका खानी पनि हुन जसको दृश्यावलोकनबाट जो कोही पुलकित हुन सक्दछ । त्यसकारण प्रकृति प्रदत्त यी सम्पदाको संरक्षण गर्नु मानवको कर्तब्य हो । यस क्षेत्रमा भएका माथि उल्लेखित तातोपानीका कुण्डहरू, धवलागिरीलगायतका हिमश्रृङ्खलाहरू, रूप्सेसमेतका विभिन्न छहराहरू र अनेकौं बराह तालहरूले म्याग्दीको महिमा बढाएका छन् । अतः यी प्राकृतिक सम्पदाको उचित रेखदेख, व्यवस्थापन र संरक्षणमा सरकारी र गैरसरकारी निकायहरूले यथोचित ध्यान पु¥याउन जरूरी छ ।