महिला स्वास्थ्य स्वयंसेविका दिवसमा सन्देशमूलक लोकगीत प्रतियोगिता

पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा मङ्गलबार सन्देशमूलक लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । ‘महिला स्वास्थ्य स्वयंसेविकाको सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा’ भन्ने नारासहित १४औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर प्रतियोगिता सञ्चालन गरिएको हो ।

मंगला गाउँपालिकाको आयोजना र सुआहारा मिलन म्याग्दीको सहयोगमा सम्पन्न लोकगीत प्रतियोगितामा गाउँपालिका अन्तर्गत विभिन्न पाँचवटा वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । जम्मा चार टिम सहभागी प्रतियोगिताबाट बराङ्जा स्वास्थ्यचौकी प्रथम, कुहुँ स्वास्थ्यचौकी द्वितीय, बाबियाचौर स्वास्थ्यचौकी तृतीय र अर्मन स्वास्थ्यचौकी सान्त्वना भएका छन् । उनीहरुलाई क्रमशः नगद छ हजार, पाँचहजार, चारहजार र तीनहजार रुपैयाँले पुरस्कृत गरिएको थियो ।

प्रतियोगीहरुले सुरक्षित मातृत्व, खोप, गर्भवती तथा नवजात शिशुको हेरचाह, आइरन चक्की, परिवार नियोजनका अस्थायी र स्थायी साधनहरुको प्रयोग, पोसिलो खानेकुरा, स्वास्थ्य र सरसफाई, गर्भको चेकजाँच लगायतका सन्देशहरु समेटेर गीत गाएका थिए । उक्त प्रतियोगिताको सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुन, सुपरभाइजर भीमकुमारी बुढाथोकी र अर्मन स्वास्थ्यचौकीका सिनियर अहेव रामप्रसाद खरालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमको अवसरमा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको जानकारी, लैङ्गिक तथा घरेलु हिंसा, यसले पार्नसक्ने प्रभाव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको अवस्था, मानव अधिकार र न्युनीकरणका उपाय लगायतका विषयहरुमा सहजीकरण गरेकी थिइन् । ज्येष्ठ महिला स्वयंसेविका मनमाया रोकाको अध्यक्षता र मंगला गाउँपालिकाका स्वास्थ्य संयोजक बालकृष्ण शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार प्रताप बानियाँले मन्तव्य राखेका थिए ।