म्याग्दीका सौन्दर्यकर्मी मल्ल केन्द्रीय सदस्यमा निर्वाचित

सौन्दर्यकला व्यवसायी संघ नेपालको केन्द्रीय सदस्यमा म्याग्दीबाट सौन्दर्यकर्मी राधाकुमारी मल्ल निर्वाचित हुनुभएको छ । संघको काठमाडौंमा सम्पन्न नवौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट प्रदेशनम्बर ४ को प्रतिनिधित्व गर्दै मल्ल सर्वसम्मत रुपमा केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको हो ।

सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको निवर्तमान अध्यक्ष समेत रहनुभएकी मल्ल म्याग्दी जिल्लाबाट सर्वसम्मत सिफारीस भई अन्य जिल्लाको समर्थनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको संघका जिल्ला अध्यक्ष प्रमिला जोशी श्रेष्ठले बताउनुभयो । संघको केन्द्रीय अध्यक्षका लागि निर्वाचन भएको थियो भने अन्य पदमा सर्वसम्मत गरिएको बताउँदै उहाँले अध्यक्षमा कमला श्रेष्ठले १०५ मत ल्याएर विजयी भएको जानकारी दिनुभयो ।

सौन्दर्यकला व्यवसायी संघको केन्द्रमा म्याग्दीको प्रतिनिधित्व भएपछि जिल्लामा सौन्दर्य कलासम्बन्धी कामहरु तथा विभिन्न कार्यक्रम गर्न सहयोग पुगेको अध्यक्ष जोशीको भनाई छ । फेमिना व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको सञ्चालक समेत रहनुभएकी मल्लले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि आफूलाई धेरै खुसी लागेको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

उहाँले आफ्नो पेशा र व्यवसाय सँगसँगै व्यक्तित्व र नेतृत्वको पनि विकास गर्नुपर्ने भन्दै महिलाहरुलाई व्यावसायिकमूलक क्षेत्रमा लागेर आत्मनिर्भर बन्न सुझाव दिनुभएको छ । आफ्नो कार्यकालमा सौन्दर्यकलाको क्षेत्रमा नयाँनयाँ काम गर्ने र धेरैभन्दा धेरै व्युटिसियनहरु उत्पादन गरी उनीहरुलाई स्वरोजगारको बाटोमा अगाडि बढाउने लक्ष्य रहेको नवनिर्वाचित केन्द्रीय सदस्य मल्लको भनाई छ ।

छ महिना व्युटी पार्लरसम्बन्धी तालिम लिएर डेढवर्ष काम गरी २०५८ सालमा मल्लले बेनीमा आफ्नै फेमिना व्युटी पार्लर एण्ड टे«निङ व्यवसाय सुरु गर्नुभएको थियो । व्युटीपार्लर सुरु गरेको झण्डै डेढ दशक भैसक्दा उहाँले हालसम्म पाँचसयभन्दा बढी व्युटिसियनहरु उत्पादन गरेको बताउनुभएको छ । उहाँको पार्लरमा तालिम सिकेर कतिपय व्युटिसियनहरु विदेश गएका छन्भने कोहीले स्वदेशमै पार्लर र कस्मेटिक पसल सञ्चालन गरेका छन् । पछिल्लो समय म्याग्देलीहरुको केन्द्रमा विभिन्न संघसंस्थामार्फत उपस्थिति बढ्दै गएको छ ।