लोकतान्त्रिक गठबन्धनको बेनपा–१, २ मा चुनावि सभा

लोकतान्त्रिक गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार एवम् नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले २०७० सालको संविधान सभाको निर्वाचनमा आफूलाई टुरिष्ट उम्मेदवारको आरोप लगाएका कम्यूनिष्टहरुलाई आफूले गतिलो जवाफ दिएको बताउनुभएको छ ।

लोकतान्त्रिक गठबन्धनले ज्यामरुककोटको भकुण्डेमा आयोजना गरेको चुनावि सभामा बोल्दै लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार गर्वुजाले कम्युनिष्टहरुले २०७० सालको संविधान सभाको निर्वाचनमा उम्मेदवार बन्दा आफूलाई बेलायती टुरिष्ट भनेको स्मरण गर्दै बेलायतको जागिर,सुख,सुविधा छोडेर जिल्लाको विकास र समृद्धिको लागि खट्दै पुनः चुनावी प्रतिष्पर्धामा उत्रेर आरोपको गतिलो जवाफ दिएको बताउनुभयो ।

लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुले चुनाव जितेमा पाँच वर्ष भित्रमा म्याग्दीलाई नेपालकै नमूना र सम्पन्न जिल्ला बनाउने भनाई दोहोराउदै उम्मेदवार गर्वुजाले कम्यूनिष्टहरुका गुलिया आश्वासनमा नफसी लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।

गर्वुजाले भन्नुभयो, ‘हामी भाषण गर्न र आश्वासन बाढ्न जान्दैनौ,मौका पाएमा काम गरेर देखाउने हो, तपाईहरुलाई विकास र समृद्धि चाहिएको छ भने लोकतान्त्रिक गठवन्धनको विकल्प छैन,हामीलाई भोट दिई आफ्नो गाउँ र जिल्लालाई समृद्ध बनाउने अभियानमा सरिक हुनुहोस् ,’आफूले बेलायतको लामो वसाईवाट विकास र समृद्धिका लागि चाहिने योजनाहरु सिकेर आएको बताउँदै त्यो सीपलाई जिल्लाको विकास र जनताको समृद्धिका लागि उपयोग गर्न चाहेको छु भन्नुभयो ।

त्यसैगरी प्रजातान्त्रिक गठबन्धनको तर्फबाट प्रदेश सभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचनले आफूले नाफाको जिन्दगी पाएको बताउँदै धन कमाउन,मन्त्री वन्न र व्यक्तिगत वा दलगत स्वार्थ पूरा गर्न नभै जनताको सेवा र जिल्लाको विकास गर्ने आफ्नो अधुरो सपना पूरा गर्न उम्मेदवार बनेको हुँ भन्नुभयो । लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरु विजयी भए रत्नेचौर–अर्जम–भकुण्डे–भकिम्ली मोटरबाटोको स्तरोन्नति र भकुण्डेदेखि गौश्वारासम्मको बाटोलाई पाँच वर्षभित्रमा कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी पूर्व सांसद रेशमवहादुर बानियाँले आफू सांसद हुँदा जिल्लाको विकासका लागि योजनाहरु माग गर्ने र जिल्लालाई आवश्यक बजेट छ्ट्याउन पहल गर्ने काममा आफ्नो महत्वपूर्ण भूमिका रहेको बताउँदै जिल्लाको विकासका लागि आफु सदा तत्पर रहने प्रतिवद्धता सहित लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई मत दिई विजयी बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव एवं बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ,समानुपातिक उम्मेदवार विमला गौचन र त्रिलोकचन्द्र विश्वास,नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मीनवहादुर कार्की र राप्रपाका समानुपातिक उम्मेदवार डम्मवर सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रम क्षेत्रवहादुर थापाको अध्यक्षता,हरिप्रसाद शर्माको स्वागत र यामवहादुर कार्कीको संचालनमा सम्पन्न भएको थियो ।यसैगरी बेनपा १ रत्नेचौरमा पनि लोकतान्त्रिक गठवन्धनको चुनावी सभा सम्पन्न भएको छ ।

रत्नेचौरमा इकाइ समितिका सभापति मीनवहादुर खत्रीको अध्यक्षता,राप्रपाका नरेन्द्र बोगटीको स्वागत र विक्रम बोगटीको संचालनमा सम्पन्न सो कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार खमवीर गर्वुजा,प्रदेश सभा ‘क’ का उम्मेदवार भीमप्रसाद गौचन र पूर्व सांसद रेशमवहादुर बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै बेनपा १ को अर्जमा सम्पन्न चुनावी सभामा पनि प्रतिनिधि सभाका उम्मेदवार गर्वुजा,प्रदेश ‘क’ का उम्मेदवार गौचन र पूर्व सांसद बानियाँले मन्तव्य व्यक्त गर्दै लोकतान्त्रिक गठवन्धनलाई जिताउन आग्रह गर्नुभएको थियो ।

यसैविच नेकपा एमाले प्रदेश नम्बर २ ले समेत घरदैलो अभियानलाई तिब्रता दिएको छ । यसैविच बेनी नगरपालिका–६ एकपाटेमा भेटघाट सम्पन्न भएको छ । चुनावी अभियान अन्र्तरगत एकपाटेका अगुवा कार्यकर्तासंगको छलफलमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले त्यहाँको समस्यालाई मध्यनजर गरी योजना बनाउने प्रतिबद्धता जनाए । धु्रबसागर शर्मा