म्याग्दीको मुनामा ४.२ रेक्टरस्केलको भूकम्प

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनालाई केन्द्रविन्दु बनाएर एकाविहानै भूकम्प गएको छ । विहान ५ बजेर २ मिनटे मुना आसपासको क्षेत्रमा नयाँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुतिरहेको अवस्थामा जमिन हल्लिएपछि लुलाङ, ताकम, मुदीका साथै म्याग्दीको सदरमुकाम बेनीबजारसम्म धक्का महसुस भएको थियो ।

‘आवाज ठुलै थियो, गाउँले त्रसित भएका छन्’ मुनाका वडा अध्यक्ष पुर्म पुनले बेनीअनलाइनलाई बताए । उनले ०७२ बैशाख १२ गते गएको भूकम्पपछि गाउँमा पहिलोपटक धक्का महसुस गरिएको बताए ।

भूकम्प गएपछि घर समेत हल्लिएको थियो । उनले जमिन हल्लिएपछि सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए । भूकम्प महसुस सबैभन्दा धेरै मुनामा गरिएको छ । भूकम्प मापद केन्द्रकका विज्ञ चिन्तन तिमिल्सिनाका अनुसार धक्का महसुस भएपनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले मुना आसपासको क्षेत्रमा विगतमा पनि ५ रेक्टरस्केलभन्दा तलको भूकम्प गएको र बेलाबेलामा ३ देखी ४ रेक्टरस्केलको भूकम्प गइरहने बताए ।

पश्चिम म्याग्दीको देविस्थान, ताकम, मुना, मुदी धौलागिरि अञ्चलमा भूकम्पको जोखिम क्षेत्रमा रुपमा चिनिन्छन् । दुईदशक यताको भूकम्पको केन्द्रविन्दुमा म्याग्दीको देविस्थान, ताकम, मुदीमा ४ रेक्टरस्केलको भूकम्प गएको देखिन्छ । केहीबर्ष अगाडी समेत देविस्थानलाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टरको भूकम्प गएको थियो । भुकम्प विद्का अनुसार भूकम्पको फन्टलाईनमा धौलागिरि समेत पर्ने देखिएको छ ।

तिब्वत क्षेत्रबाट धौलागिरि हिमालको फेद हुदै एउटा फन्टलाइन रहेको बताइन्छ । जसका कारण पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुईदशक यता ४ देखी ५ रेक्टरस्केलका भूकम्पको २० पटक धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ । मुस्ताङ र पर्वतको तुलनामा म्याग्दी र बागलुङमा धेरै केन्द्रविन्दु रहेका छन् । दुईदशक यता धौलागिरि अञ्चलमा गएको सबैभन्दा ठुलो बागलुङको बोवाङलाई केन्द्रविन्दु बनाएर गएको ४.९ रेक्टरको भूकम्प हो । जसका कारण तत्कालिन समयमा बोवाङ आसपासका क्षेत्रमा भौतिक क्षती भएको थियो ।