५५औं रेडक्रस दिवस मनाइयो

सन्दीप शर्मा
सोमबार ५५औं नेपाल रेडक्रस दिवसको अवसरमा म्याग्दी र पर्वतमा विविध कार्यक्रमहरुको आयोजना गरिएको छ । दिवसको अवसरमा अस्पतालमा उपचाररत बिरामीलाई फलफुल वितरण, बाढीपीडितलाई राहत सङ्कलन तथा सरसफाई र रक्तदान कार्यक्रम गरी दिवस मनाइएको हो । नेपाल रेडक्रस सोसाइटी बेनी उपशाखा म्याग्दीको आयोजनामा जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई पूर्ण स्वास्थ्यलभाको कामना गर्दै फलफुल वितरण गरिएको छ ।

यसैगरी रेडक्रस पुलाचौर उपशाखाद्वारा हालै तराईमा आएको बाढीबाट पीडिहरुलाई लक्षित गरी दुईहजार पाँचसय रुपैयाँ आर्थिक सङ्कलन गरिएको छ । उक्त रकम रेडक्रस जिल्ला शाखा हुँदै केन्द्रमार्फत तराईका बाढीपीडितलाई पठाइने उपशाखाले जनाएको छ ।

त्यस्तै दिवसको अवसरमा उपशाखाको कार्यालय परिसरमा सरसफाई समेत गरिएको छ । कार्यक्रममा बेनपा–५ का वडाध्यक्ष लक्ष्मण बानियाँ, उपशाखाका पदाधिकारी, कार्यसमिति सदस्य र आजीवन सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
पर्वत बेनीमा रक्तदानः
यसैबीच उत्तरी पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा सोमबार ५५औं नेपाल रेडक्रस दिवसको अवसरमा रक्तदान गरिएको छ । लायन्स क्लब अफ मल्लाजको आयोजना र नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाद्वारा सञ्चालित रक्तसञ्चार गृहको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।

जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल, क्लबका पदाधिकारी, सदस्य, स्थानीयबासिन्दा, उत्साही समूह र आमा समूहका प्रतिनिधिहरुले रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए । गाउँपालिकाका अध्यक्ष मल्लले रक्तदान जिवनदान सरह भएको बताएका छन् ।

क्लबका अध्यक्ष दिलिप बरुवालको अध्यक्षता र शेषराज रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लबका चन्द्रकुमार केसी र रक्तसञ्चार केन्द्रका प्रमुख याम थापाले मन्तव्य राखेका थिए ।