मुखको हड्डीमा गम्भीर समस्या देखिएपछि उपचार गराइरहेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका १७ बर्षिय बिशाल बुदुजालाई कतारमा कार्यरत म्याग्देलीले आर्थिक सहयोग गरेका छन् ।

विगत एकबर्ष देखी मुखकोे बङगारा दुख्ने, दाँया तर्फको गालामा खाडल र हड्डी समेत खिजिएपछि आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका बुदुजालाई कतारमा रहेका रन बहादुर तिलिजाको पहलमा ३४ हजार ७८५ रुपैयाँ सङ्कलन भएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका सचिव लोकेश पुनले बताए ।

‘उपचारमा सहयोग जुट्ने क्रम जारी छ । सानो सहयोगले बुदुजाले नयाँ जिवन पाउनेछन्’ पुनले भने । मुखको हड्डीमा समस्या देखिएकाले नियमित उपचार र अप्रेसन सहित धेरै खर्च लाग्ने अवस्था देखिएकाले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट सहयोगको अपेक्षा सहित कोषले आर्थिक संकलन अभियान सुरु गरेको थियो। कोषका अध्यक्ष राजेश शाक्यले कलिलै अवस्थामा गम्भीर समस्या देखिएको बताउँदै सहयोग गर्ने सहयोगदातालाई धन्यवाद दिएका छन् ।

उनले आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाका अन्त्य गर्न विश्वभर रहेका म्याग्देलीहरु एक जुट हुन अनुरोध समेत गरे । बुदुजाले रोगको पहिचानका लागि कोषबाट १० हजार सहयोग गरेर अभियान सुरु गरिएको थियो । पिडित बुदुजाको काठमाण्डौमा उपचार भइरहेको छ ।