म्याग्दीका स्थानीय तहको बजेट १ अर्ब ६७ करोड

प्रताप बानियाँ
म्याग्दीका छ ओटा स्थानीय तहमा चालु आर्थिक वर्ष २०७४÷७५ का लागि डेढ अर्बभन्दा बढीको बजेट विनियोजन भएको छ । एक नगरपालिका र ५ ओटा गाउँपालिकासहित छ ओटा स्थानीय तह रहेको म्याग्दी जिल्लामा कुल १ अर्ब ६७ करोड ३५ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।

अधिकारसम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पहिलोपटक आफ्नै पहलमा ग्रामीण क्षेत्रको विकासका लागि बजेट र कार्यक्रमहरु ल्याएका छन् । म्याग्दीको बेनी नगरपालिकाको प्रथम नगरसभाले चालु आर्थिक वर्ष २०७४÷७५ का लागि कुल ३७ करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले विभिन्न वडाहरुमा सडक, कृषि तथा सिँचाइका योजनाहरु अगाडि सारेको छ भने पौलस्त्य पुलहाश्रम क्षेत्रमा रामायण पार्क निर्माण गरी यसै क्षेत्रमा जन्मिएका भनिएका रावणको प्रतिमा स्थापना गर्ने योजना समेत बनाएको छ । बेनी नगरपालिकाले पूर्वाधार विकास, आयआर्जन वृद्धि र सुशासनलाई पनि प्राथमिकता दिएको छ । विपद् व्यवस्थापन र ऐतिहासिक स्थलहरुको संरक्षण जस्ता विषयहरु बजेटमा समेटिएको नगर उपप्रमुख सन्जु बरुवालले बताउनुभयो ।

यसैगरी मङ्गला गाउँपालिकाले २८ करोड ९१ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका क्षेत्रमा सडक निर्माण, विस्तार, स्तरवृद्धि र अन्य पूर्वाधारको कामका लागि आफ्नै डोजर खरिद गर्न एक करोड एकलाख ५० हजार बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेका खनिज सम्पदाको अन्वेषण, मङ्गला चक्रीय पदमार्ग, लघु व्यवसायको सम्भाव्यता अध्ययनका साथै एकीकृत सामाजिक परिवर्तनका लागि प्रशिक्षण सञ्चालनमा बजेटको व्यवस्था गरिएको छ ।

त्यस्तै मालिका गाउँपालिकाले २५ करोड ५७ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । ग्रामीण पर्यटन, कृषि, सडक, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा, शिक्षा स्वास्थ्य र गाउँपालिका केन्द्रको पूर्वाधार निर्माणका लागि बजेटमा प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । उहाँका अनुसार प्रसिद्ध मालिका मन्दिरमा भ्युटावर निर्माण गरिने भएको छ ।

धौलागिरि गाउँपालिकाले गाउँसभाबाट चालु वर्षका लागि बजेट, नीति, योजना, तथा कार्यक्रमसहित २५ करोड ९३ लाख २७ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको जनाएको छ । जिल्लाकै अति विकट गुर्जासम्म पुग्ने सुरूङ मार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने योजनालाई गाउँपालिकाले प्राथमिकता दिएको छ । गाउँपालिकाको वडानम्बर १ गुर्जाका जनतालाई विभिन्न कार्यक्रमसँगै लुलाङदेखि गुर्जासम्म सुरूङमार्गको सम्भाव्यता अध्ययन गरी डिपीआर तयार गर्न गाउँसभाले ८ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।

त्यसैगरी रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष ०७४÷०७५ का लागि २४ करोड ७५ लाख ५२ हजारको बजेट सार्वजनिक गर्दै विकास निर्माणलाई प्रभावकारी बनाउन डोजर खरिदका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । दग्नाम–चिमखोला–कुईनेमङ्गले सडक विस्तार र गाउँपालिकालाई रिङरोडको अवधारणअनुसार अगाडि बढाउन सडक सञ्जाललाई प्राथमिकता दिइएको छ ।

कुईनेमङ्गलेका जनतालाई समेत विकासको महशुस दिलाउने गरी ‘जनताको सहभागिताका विकास’ भन्ने कार्यक्रममार्फत श्रमदानलाई समेत प्राथमिकता दिइएको गाउँपालिका प्रवक्ता जीबन मल्लले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाले २३ करोड २९ लाख ६२ हजार रुपैयाँको बजेट पारित गरेको छ भने बजेटमा समृद्ध र नमुना गाउँपालिका निर्माणका लागि जलविद्युत, पर्यटन र कृषिलाई प्राथामिकता दिइएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुनले नमुना गाउँपालिका बनाउन जलविद्युतमा ‘उज्यालो घर, अन्नपूर्णको भर’ कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।