healthy-liver-bad-liver

डा. दीपेशलाल गुरुवाचार्य

कलेजो मानव शरीर भित्रको ठूलो अंग हो । परिपक्व उमेर पुगेका आम मानिसमा रहेको कलेजोको तौल औषतमा डेढ किलो हुने गर्दछ । यसको काम धेरै किसिमका हुन्छन् । यद्धपी साधारण भाषामा भर्नुपर्दा यसको एउटा काम शरीरका लागि आवश्यक ‘मेटाबोलिजम’ अर्थात प्रोटिन, ग्लोकोज, फ्याट तथा कार्वोहाइट्रेडलाई जम्मा गर्ने अर्थात स्टोरेज गर्ने काम गर्छ । शरीरमा जतिवेला ती चिजको आवश्यकता पर्दछ त्यहिबाट निकाल्ने र प्रयोग हुने गर्दछ ।

कलेजोको दोस्रो काम भनेको हामीले खाएर मेटाबोलिजम भएपछि जुन खराब तत्वहरु निस्कन्छ, त्यो सबै सफाई गर्ने अर्थात खराब चीजको समेत उचित व्यवस्थापन गर्ने काम गर्छ । अर्थात ‘डिटोक्सिट’ गर्ने काम गर्छ ।

त्यस्तै पित्त बनाउने काम पनि कलेजोको हुन्छ । हामीले खाएको कतिपय औषधिहरुलाई खाएर काम काम गरिसकेपछि फाल्ने काम पनि अर्थात ‘डिटक्सीफिकेसन’ पनि कलेजोले नै गर्छ ।

त्यस्तै हाम्रो शरीरका लागि आवश्यक हर्मोन बनाउने देखि ‘भिटामिन डी’ बनाउने काम पनि कलेजोले गर्छ ।

कलेजो नभईकन मानिसको बाच्ने सम्भावना नै हुँदैन । तर यो मात्रै यस्तो अंग हो जहाँ रगतको सप्लाई गर्ने प्रणाली दोहोरो हुन्छ । रगतका लागि दुईवटा मुटुको धमनीबाट आउने र अर्को पेटको रगत जाने नलि हुन्छ ।

अर्थात एउटा नलीले अलि काम गरेको छैन भने पनि अर्कोले गर्छ । कलेजो यस्तो अंग हो जो पलाउने क्षमता राख्छ । काटेको कलेजो होस वा कहिलेकाँही बिग्रिएको कलेजोहोस उपचार भएको खण्डमा तत्काल पलाउछ र पुरानै अवस्थामा पनि काम गर्न सक्छ ।

अर्को भनेको यसको पलाउने क्यापासिटी हुन्छ । केही मात्रामा विग्रिएको छ भने पुन पलाउने काम पनि यसले गर्छ । यसले व्याक्टेरिया सफा गर्ने छान्ने काम पनि गर्छ । व्याक्टेरिया खाएका छौँ भने पेटले छान्न सकेन भने कलेजोमा जान्छ । त्यहाँबाट पनि सफा हुने काम गर्छ ।

कलेजो कसरी बिग्रन्छ ?

 

कलेजो विग्रने धेरै किसिमका कारणहरु छन् । तर यसलाई बुझनका लागि हामी बिग्रने प्रक्रियालाई पनि दुई भागमा बाँढेर हेर्न सक्छौँ । एउटा ‘एक्युट लिभर फेलियर ‘र अर्को ‘क्रोनिक लिभर फेलियर ‘ ।

‘एक्युट लिभर फेलियर’ भनेको एक दुई दिन अघिसम्म सम्म केही नभएको तर आज एक्कासी बिग्रिएको अवस्था हो । अर्थात केही नभएको कलेजो एक्कासी विग्रने अवस्था ।

दोस्रो भनेको कुनै कारणले बर्षौ देखि विस्तारै देखिने समस्या अर्थात ‘क्रोनिक’अवस्था । अल्कोहल नियमित रुपमा बढी खाने व्यक्ति तथा हेपाटाइटिस बी र सी भएका व्यक्तिलाई बर्षौ पछि यस्तो समस्या आउन सक्छ ।

ती बाहेक जन्मजात समस्या पनि हुनसक्छन् ।

कसरी हुन्छ ‘एक्वीट फेलियर’ ?
एक्वीट फेलियरको अवस्था भनेको एक दिन अघिसम्म फिट छ । तर कुनै एक्कासी विग्रन सक्छ । जस्तो की पोइजनिङको कारण, प्यारासिटामोलको ओभर डोज भयो कलेजो एक्कासी विग्रन सक्छ । त्यस्तै विषालु च्याउ खाँदा पनि कलेजो एक्कासी बिग्रन सक्छ । र यो अवस्थामा कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था हुनसक्छ ।

कहिलेकाँही गर्भवती अवस्थामा आउन सक्ने कुनै स्वास्थ्य समस्याले पनि कलेजोमा तत्कालै असर गर्न सक्छ । यसलाई हामी ‘एक्युट फ्याटी लिभर अफ प्रेग्नेन्सी’ भनेर चिन्दछौँ । जसले तत्काल कलेजो फेल गराउँन सक्छ ।

त्यस्तै ‘फिकोओरललुप’ अर्थात खाना खाने समयमा त्यो जिवाणु खानाबाट शरीरमा प्रवेश गरी कलेजोमा पुगी गर्ने असर जसलाई हामी हेपाटाइटिस के र इ भन्छौँ । त्यसले गर्दा पनि एक्युट लिभर फेलियर हुनसक्छ । गर्भवती अवस्थामा के र गर्भवती नहुँदा इ भयो भने कलेजो पनि पूर्ण रुपमा एक्युट लिभर फेलियर हुने सम्भावना छ ।

कसरी हुन्छ क्रोनिक लिभर फेलियर ?
कलेजोलाई विगार्ने तत्वले लामो समय देखि काम गरिरहेको छ रुपमा अर्थात दीर्घरुपमा काम गरिरहेको छ भने त्यसलाई हामी क्रोनिक भन्दछौँ लिभर डिजिज भन्दछौँ ।

कलेजोलाई यो अवस्थामा ल्याउने प्रमुख कारणमध्येको एक हो अल्कोहल अर्थात रक्सी सेवन । लामो समयदेखि अत्यधिक रक्सी सेवन गर्ने व्यक्तिको कलेजो विग्रन सक्छ । त्यस्तै हेप वी र सीले पनि कलेजो विगार्न मद्धत गर्छ । अर्थात लामो समयसम्म हेपाटाइटिस वि र सि भएका व्यक्तिको कलेजो फेलियर हुनसक्छ ।

कलेजो कुन अवस्थामा फेर्नुपर्छ ?
कलेजो जतिवेला काम नगर्ने अवस्थामा पुग्छ त्यतिवेला त फेर्नै पर्छ । र केही नभएको कलेजो एक्कासी विग्रन पनि सक्छ । त्यसो भयो भने तत्काल कलेजो फेर्नुपर्छ । विभिन्न रोगका कारण पनि कलेजो छिटो विग्रने र फेर्नु पर्ने अवस्थामा रहेको पाइन्छ । त्यसबाहेक क्रोनिक समस्याबाट विग्रदै गएको कलेजोमा पनि फेर्नुपर्ने अवस्था आउनसक्छ ।

त्यसो त नेपालमा पनि कलेजो प्रत्यारोपण सुरु भएको छ । अव विस्तारै यसले गति लिन्छ । र फेर्नुपर्ने हरेक व्यक्तिले सो सेवा नेपालबाटै पाउन सक्छन् ।

मासु रक्सी नखानेमा कलेजोको समस्या हुन्छ किन ?
कलेजो फेलियर हुने विभिन्न कारण मध्ये एउटा प्रमुख कारण रक्सी हो । यसको मतलव यो होइन कि रक्सी नखाने मानिसलाई कलेजो फेलियर हुदैन भन्ने ।

हेप वि सी होला, बंषाणुगत कारण होला, यस्ता अन्य कारणले पनि कलेजोमा असर गर्नसक्छ । अर्को भनेको अटो इम्युन हेपाटाइटिस भन्छौँ जो आफ्नो रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई देखिने समस्या हो । त्यस्ता व्यक्तिको कलेजोमा छिटो आक्रमण गर्छ ।

कतिपयमा जन्मजात नै निश्चित इन्जाइमहरुले समेत काम गरेको हुन्छ ।यस कारण पनि विग्रन सक्छ कलेजो ।

जोगिनको लागि के के गर्ने ?
कलेजो जे कारणले बिग्रन्छ त्यो गर्दै नगर्ने अर्थात, अत्यधिक रक्सी सेवन नगर्ने , हेप वि र सी छ भने नियमित रुपमा जाँच गराउने ,  नियमित रुपमा परीक्षण गर्ने र डाक्टरको सल्लाहमा चल्ने । यी कुरामा ध्यान दिइयो भने कलेजोको समस्याबाट बच्न सकिन्छ ।

हेप सि भनेको निश्चित व्यक्तिलाई मात्रै लाग्छ । जस्तो कि लागू पदार्थको दुव्र्यसनी, जथाभावी सफासुग्गर नगरी टाटू खोप्ने मान्छे । या जन्म जात रगत चडाएर बाच्नु पर्ने रोगलागेका व्यक्तिहरुमा त्यस्तो सम्भावना हुनसक्छ । त्यो बढी छ भने समय समयमा हेप सीको जाँच गर्नुपरयो ।

हेप बी भनेको नेपाल जस्तो गरीव देशमा आमाबाट बच्चामा सर्ने हो । अब हस्पिटलमा बच्चा जन्माउदा आमाको बीच बीचमा जाँच हुन्छ । त्यसो गर्दा हेपाटाइटिसको दोस्रो तेस्रो अवस्थामा पुग्छ । कोही कस्तो हुन्छ कि नौ महिनासम्म गर्भवती हुन्छ तर हेपाटाइटिस भएको थाह छैन

‘रक्सी छोडदा रोगले पनि छोडको छ ‘

मैले मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुर र बेलुकाको समयमा निदान अस्पतालमा काम गर्छु । यो दौरानमा म संग गजवको अनुभव छ । अत्यधिक रक्सी सेवनका कारण कलेज विग्रिएर प्रत्यारोपण गर्ने अवस्थामा पुगेकाहरु आनीबानीमा सुधार अर्थात रक्सी सेवन गर्न छाडेपछि आफसेआफ निको भएको पाएको छु ।

रक्सि खाएर कलेजो विगारी भारतमा उपचार गराउँदा गराउँदा हैरान भएकाहरु अचेल मानवअंग प्रत्यारोपण केन्द्रमा आउने गर्नुहुन्छ । सो क्रममा हामीले कलेजो विग्रनुको कारण सुनाउँछौँ र प्रत्यरोपण गर्ने लिष्टमा चडाउँछौँ । तर पालो नआउँदै उहाँको समस्या निको भइसकेको हुन्छ । अर्थात उहाँले आफू अन्तिम अवस्थामा पुगेको महसुस गर्दै जव रक्सी छाड्ने खानपानमा विशेष ध्यान दिने गर्नुहुन्छ र व्यवहारमा लागू गर्नुहुन्छ रोग हराएर जाने अवस्था हुन्छ । त्यसैले कलेजोबाट जोगिन रक्सी अनिवार्य रुपमा छाड्नुपर्छ । किनकी रक्सीले सबैभन्दा बढी ज्यान लिने दुर्घटना गराएर हो र दोस्रो कारण कलेजोरोगबाट नै हो ।

के हो लिभर सिरोसिस ?

लिभर सिरोसिस भनेका क्रोनिक लिभर अर्थात कलेजोको दीर्घरोग हो । जसमा कलेजोले गर्नुपर्ने निश्चित कामहरु नसकेर कलेजोको आकामा पनि परिवर्तन हुने अवस्था । निश्चित अवस्थामा पुगेपछि कलेजो नर्मल अवस्थामा जान सकेन भने त्यसलाई हामी सिरोसिस भन्छौँ । साइज खुम्चदै जाने र कडापन पनि आउने । निश्चित समयसम्म कलेजो फर्काउन पनि सकिन्छ । निश्चित अवधीमा भने त्यो नफर्किन पनि सक्छ । अल्कोहल, हेप वि र हेप सी यसो हुनुको मुख्य कारणमा पर्दछन् ।

प्रत्यारोपणको अवस्था ?
नेपालमा कलेजो प्रत्यारोपण सेवा शुरु भइसकेको छ । कोरियन चिकित्सकको सहयोगमा हामीले छ महिना अघि नै मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा सफलताका साथ कलेजो प्रत्यारोपण गरेका हौँ । अरु केही सरकारी अस्पतालले पनि यो सेवा सुरु गर्ने तयारीमा भएको सुनिएको छ ।

एकदमै जटिल खालको अप्रेसन भएकोले यो जुनसुकै अस्पतालले गर्न सक्दैन । हामी पनि अझै केही प्रत्यारोपण विदेशी विज्ञको निगरानीमा गर्न चाहन्छौँ । नेपालमा कलेजो प्रत्यारोपण सम्भव छ भन्ने कुरा गत डिसेम्बर महिनामा भएको केसले स्पष्ट भएको छ र यहाँ यहाँको उपचार खर्च छिमेकी मुलुकमा भन्दा सस्तो छ । नेपालमा कलेजोको प्रत्यारोपणका लागि अहिले झण्डै २५ लाख रुपैयाँ जति लाग्ने अनुमान छ ।

# कलोजो प्रत्यारोपण फिजिसियन डा. गुरुवाचार्यलाई मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुर र निदान अस्पताल ललितपुरमा भेटन सकिन्छ ।