रघुगंगा गाउँपालिकाका जनप्रतिनिधि विकास निर्माणमा व्यस्त

म्याग्दीको रघुगंगा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भववहादुर भण्डारीले व्यक्तिगत लगानी र श्रममा गाउँपालिकाको विकास निर्माण कार्यलाई अघि बढाउनुभएको छ ।

स्थानीय तहको विकास निर्माण र बजेट खर्च गर्ने सम्वन्धि स्पष्ट निर्देशिका प्राप्त भैनसकेको अवस्थामा गाउँका समस्याहरु समाधान गर्नका लागि आफ्नै लगानी र श्रम खर्चेर गाउँपालिकाका विभिन्न गाउँहरुमा सडक निर्माण,मर्मत,खेलमैदान निर्माण र विद्युतको ट्रान्सफर्मर राख्ने लगाएतका कामहरु गर्नुभएको हो ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भण्डारीले आइतवार रघुगंगा गाउँपालिका ६ पाखापानीमा ५० केभी क्षमताको ट्रान्सफर्मर जडान गरिदिनुभएको छ । यस अघि २५ केभीको ट्रान्सफर्मर रहेको सो गाउँमा विद्युत सेवा भरपर्दो नहुनुका साथै अत्यन्त मधुरो बत्ति बल्ने समस्याका कारण स्थानीय समस्यामा रहेका थिए ।

५० केभीको ट्रान्सफर्मर राखेपछि गाउँका सबै घरमा झलमल्ल विजुली बल्नुका साथै ३ सय घरधुरी लाभान्वित भएको ओमबहादुर छन्त्यालले बताउनुभयो।ट्रान्सफर्मर राख्नका लागि भण्डारीले ढुवानी,प्राविधिक लगाएतको खर्च आँफैले व्यहोर्नुभएको छन्त्यालले बताउनुभयो ।

त्यसैगरी ६ लाख २५ हजारको लागतमा चिमखोलादेखि मंगलेको रितुङमावि ध्यासीखर्कसम्मको ७ किमी सडक मर्मत गरी संचालनमा ल्याइएको छ भने २ लाख ३० हजार रुपैयाँ व्यक्तिगत लगानीमा भण्डारीले रघुगंगा ७ गौडामुनिमा खेलमैदान निर्माण गरिदिनुभएको छ । त्यस्तै मंगलेकै ध्यासीखर्कमा ६० हजारको लागतमा खेलमैदान निर्माण गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

रघुगंगा १ बेगखोलाको सिमफोरमा व्यक्तिगत रुपमा करिब डेढ लाख रुपैयाँ खर्च गरेर १ किमी सडक निर्माण गरेको भण्डारीले बताउनुभयो । यसैगरी रघुगंगा ८ मंगलेको पात्लेखर्कमा अवस्थित आमा समूहको भवनको छानो छाउनका लागि ३५ हजार रुपैयाँको साढे ३ बण्डल जस्तापाता उपलव्ध गराउनुभएको छ ।

गत चैतमा आएको हावाहुरीले आमा समूहको भवनको छाना उडाएको थियो । त्यसैगरी आइतवार नै रघुगंगा ५ झीँको सिमानादेखि पाखापानीसम्मको ७ किलोमिटर सडक मर्मत सम्पन्न भएको भण्डारीले जानकारी दिनुभएको छ ।स्थानीय जनप्रतिनिधिले आफ्नै लगानी र श्रममा तदारुकताका साथ विकास निर्माणका कामहरु गर्न थालेपछि स्थानीय वासिन्दाहरु हर्षित र उत्साहित भएका छन् । धु्रबसागर शर्मा