म्याग्दीका ५ जना प्रतिभालाई म्याग्दी कलाकार संघ काठमाण्डौले सम्मान

म्याग्दी कलाकार संघ काठमाण्डौले म्याग्दीबाट राष्ट्रियस्तरको उपाधी जित्ने विभिन्न विधाका विजेतालाई सम्मान सहित विभिन्न कार्यक्रम गरेको छ । होटल याक एण्ठ यतीमा भब्य समारोहको आयोजा गरी मृगौला पिडित र राष्ट्रिय आविस्कार केन्द्रका लागि ५० हजार आर्थिक सङ्कलन समेत गरेको छ ।

सोही अवसरमा म्याग्दीका ५ जना प्रतिभालाई सम्मान गरेको हो । जसमा भलिबलकी राष्ट्रिय खेलाडी अरुणा शाही, कमला पुन, हालै सम्पन्न भएको राष्ट्रियस्तरको नृत्य प्रतियोगीताकी विजेता विष्णु डगामी मगर, मोडेल विजेता रोहित कँडेल, मिस पिस नेपाल उपविजेता सपना छन्त्याललाई सम्मान गरेको म्याग्दी कलाकार संघले जनाएको छ ।

च्यारेटी सो कार्यक्रमका प्रमुख अतिथि एवम् म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनकुमार विश्वकर्माले म्याग्देलीहरुले जिल्लाबाहिर समेत आफ्नो जिल्लाको कला र संस्कृतिको संरक्षणमा भूमिका खेलेको बताएका थिए । उनले लोपउन्मुख कला र संस्कृति जोगाउने अभियानमा आफ्नो सधै सहभागिता रहने बताउँदै काठमाण्डौमा म्याग्देलीको उपलब्धीलाई प्रोत्साहन गर्न खेलेको भूमिकाबाट उत्साहित रहेको बताए ।

कार्यक्रममा लोकप्रिय गायक खड्ग गर्बुजा लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता कोषकी संयोजक जालामाया बुढाथोकी, स्वागत दिलकुमारी राम्जाली र सञ्चालन राम गगन थापाले गरेका थिए । सोहस् अवसरमा विष्णु डगामी मगरले नृत्य, गायक सञ्जन बोहोरा, मिरा राम्जाली, रेखा रामदाम, दिलकुमारी रामजाली, सीता थापा लगाएत दर्जन कलाकारले आफ्नो प्रस्तुती राखेका थिए ।