बेनी अस्पतालमा अर्को चमत्कारी अप्रेसन

बेनी अस्पतालमा जटिल अवस्थामा आएकी एक महिलाको सफल अप्रेसन गरिएको छ । मंगला गाउँपालिका बरंजाकी ३० बर्षिया एक यूवतीको पाठेघर बाहिर रहेको गर्भ अस्पतालका डा. घिरेन मल्ल सहितको चिकित्सको टोलीले सफल अप्रेसन गरेर बाहिर निकालेको छ ।

तीनबर्ष अगाडी विवाह गरेकी यूवतीको पाठेघर भित्र रहेको गर्भ गत चैत्र ३० गते खेर गएपछि निरास भएर घरमै बसेको अवस्थामा तीनदिन देखी लगातार दाहिने कोखो दुख्न थालेपछि बेनी अस्पतालमा भर्ना भएकी थिईन् । एपेन्डिक्स भएको अनुमान गरिएपनि भिडियो एक्सरेको क्रममा पाठेघर बाहिर १३ हप्ताको गर्भ (ectopic pregnancy) देखिएपछि तत्कालै चिकित्सकको टोली इर्मरजेन्सी बैठक बसेर सफल अप्रेसन गर्न सफल भएको डा. मल्लले बताए ।‘पाठेघर बाहिर नफुटेको अवस्थामा गर्भ भेटियो ।

यस्ता केस चिकित्सा क्षेत्रकै दुर्लभ मानिन्छ’ डा. मल्लले बेनीअनलाइनलाई भने । उनले विरामीको पहिलो गर्भ समेत खेर गएको अवस्थामा दोस्रोपटक समेत पाठेघर भित्रको खेर गएपनि १३ हप्तासम्म पाठेघर बाहिर बच्चा हुर्किरहेको अवस्थामा भेटिएको बताए । ‘बच्चाले केही समय खुट्टा चलाइरहेको थियो । म्याग्दीमा पहिलोपटक गरिएपनि नेपालमा समेत निकै कम संख्यामा भेटिन्छन्’ डा. मल्लले भने ।

उनले विगतमा समेत पाठेघर बाहिर (Falopain Tube) मा ११ हप्ताको बच्चा फुटेपछि अत्याधिक रगत बगेको अवस्थामा अस्पतालमा आएकी बेनी नगरपालिका–३ भकिम्लीक एक विरामीको सफल उपचार भएपनि पाठेघर बाहिर १३ हप्तासम्म जिवित अवस्थामा बच्चा भेटिने विश्वकै ३० हजार गर्भवती महिलामा एकजना हुने उनले बताए ।

विश्वभरका अनुसन्धान र चिकित्सा क्षेत्रमा ठुला र दुर्लभ अप्रेसनभित्र समेटिने अप्रेसनमा सफलता प्राप्त गरेपछि बेनी अस्पतलाका प्रमुख एवम् वरिष्ठ मेडिकल सुपरीटेण्डेण्ड डाक्टर रोशन न्यौपानेले समेत अप्रेसनमा खटिका टोलीलाई बधाई दिएका थिए । ‘ठुला अस्पतालमा समेत यस्ता घटना भेटिदैनन् ।

विश्वभर प्रयोग गरिएका विधिलाई समेत अप्रेसनमा प्रयोग गर्ने गरेका छौ’ डा. न्यौपानेले भने । उनले जटिल अवस्थामा आएका विरामीको अप्रेसन बाहेकको विकल्प नभएको समेत बताए । बेनी अस्पतलामा भएको अप्रेसनका बारेमा चिकित्सकहरुको फोरममा समेत चर्चा सुरु भएको छ ।

बेनी अस्पतालमा दुईबर्षको अन्तरालमा चिकित्सा क्षेत्रमै जटिल र ठुला मानिएका करिव एक दर्जन अप्रेसन गरिएको छ । पाठेघर बाहिर आन्द्रामा बच्चा बसेको, योनी भित्र कण्डम, पाठेघरमा मासु पलाएको, चक्कु प्रहारबाट फोक्सोमा रगत र हावा जमेर गम्भीर घाईते, पिसावको थैलोमा भएका ढुङ्गा, अण्डकोष तल नझरेको लगाएतका अप्रेसन जिल्लाभित्र गरिएपछि विरामीको चाप समेत बढेको छ ।

निक साईमन इन्टिन्यूट अमेरिकाले अनुभवी चिकित्सक,अप्रेसनमा प्रयोग हुने जनरल एनेस्थेसिया जिए मेसिन समेत उपलब्ध भएकाले अप्रेसनमा सहज भएको छ । अस्पतालमा अप्रेसन सहितको प्रसुती सेवा लिने विरामीको समेत चाप धेरै छ । ४० देखी ७० हजारसम्म खर्च हुने अप्रेसन बेनी अस्पतालमा निशुल्क हुन थालेपछि छिमेकी जिल्लाबाट समेत विरामी आउन थालेका छन् ।