बागलुङ र गुल्मीका विरामीको रोजाईमा बेनी अस्पताल

कुनैसमय स्वास्थ्यमा समान्य समस्या देखिएपनि उपचारका लागि पोखरा जाने म्याग्देलीहरू अहिले सिकिस्त विरामी भए पहिलो रोजाईमा बेनी अस्पताललाई राख्ने गरेका छन् । विगत तीनबर्ष देखी लगातार चिकित्सा क्षेत्रमै जटिल मानिएका अप्रेसनमा समेत जिल्लामै हुन थालेपछि जटिल समस्या लिएर अस्पतालमा पुग्ने विरामी फुरूङ्ग हुदै घर फर्कने गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएपनि ऋण खोजेर उपचारका लागि पोखरा काठमाण्डौ जाने म्याग्दीका दुर्गम क्षेत्रका सर्वसाधारणको संख्या पछिल्लो समय घट्दै गएको छ । बेनी नगरपालिका र पाँचवटा गाउँपालिका मात्रै नभई छिमेकी जिल्ला पर्वत, बाग्लुङ, रुकुमका साथै अहिलेसम्म विरामी नआएको गुल्मीबाट समेत दुईदिन लगाएर अस्पतालमा उपचारका लागि आउन थालेका छन् ।

केही महिना अगाडी गुल्मी जिल्लाको नेटाको लिलिङ गाउँकी ७१ बर्षिया गोमा मगर छिमेकी बागलुङको बुर्तिवाङ हुदै उपचारका लागि आफ्नो छोरा कर्ण बहादुरसंगै बेनी अस्पतालमा आएकी थिईन् । शरीरका विभिन्न भाग दुख्ने, हिड्न समेत समस्या हुने समस्याका बारेमा बुर्तिवाङमा पुगेकी मगरलाई त्यहाँका स्वास्थ्यकर्मीको अनुरोधमा बेनी आइपुगेकी थिईन् । तीन दशक अगाडी देखी पाठेघरमा खरावी देखिएपछि उपचारबाट बन्चित भएकी उनलाई अस्पतालका चिकित्सक डा. धिरेन मल्ल सहितको टोलीले उपचार गरेपछि केहीदिनमै छोरासंगै घर फर्किएकी थिईन् ।‘जिल्ला बाहिरबाट समेत विरामी खोजीखोजी आउँदा उत्साहित छौ ।

जटिल अवस्थामा आएका विरामीलाई उपचारका लागि आवश्यक उपकरण भएकाले पनि सहज भएको छ’ डा. मल्लले बेनीअनलाइनलाई भने । उनले म्याग्दी र केही पर्वतको क्षेत्रबाहेक पनि अन्य जिल्लाबाट समय समयमा आफ्नो समस्याका बारेमा टेलिफोनबाट समेत जानकारी लिने गरेको बताए । बेनी अस्पतलाको सेवा बारे प्रचारप्रसार भएकै कारण बागलुङको हटिया काउलेकी ३० बर्षिया रिता घर्तीको देब्रे डिम्बकोषमा रहेको ८÷४ सेन्टिमिटरको ट्यूमर निकालिएको थियो ।

२०५९ साल देखी पेट दुख्ने, पेट पोल्ने जस्ता समस्या देखिएपछि स्थानीय स्वास्थ्यचौकी, अञ्चल अस्पताल बागलुङ सहित पाल्पा मिसन अस्पतालमा देखाँउदा ग्यास्ट्रिकको औषधी दिएर फर्काएपछि झन्डै १५ बर्ष पेटमा भएको समस्या झल्दै आएकी घर्तीले बेनीमा उपचार पाएपछि गाउँ र आसपासका क्षेत्रमा समेत प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाएर फर्किएकी थिईन् । उनले पारिवारिक वातावरण र विरामीलाई चिकित्सकले गर्ने ब्यवहारबाट उत्साहित भएको बताईन् । उनले आगामी दिनमा समेत सम्भव भएपछि बेनी अस्पतलाबाटै उपचार लिने प्रतिबद्धता समेत जनाएकी थिईन् ।

अस्पतालमा करिव दुईहप्ता विताएकी रिताले फर्कने बेलामा चिकित्सकलाई धन्यवाद दिएकी थिईन् । छिमेकी जिल्ला बागलुङ र कहिल्यै विरामी नआउने गुल्मीबाट समेत बेनी अस्पतालमा उपचारका लागि विरामी आउन थालेपछि बेनी अस्पतालले थप प्रचारप्रसार गरी अन्य जिल्लाबाट समेत विरामी आउने वातावरण बनाउने अस्पताल विकास समितिका अध्यक्ष माधव प्रसाद रेग्मीले बताए । उनले बेनी अस्पतालको सेवामा कुनै पनि कमी आउन नदिने गरी आफुँले चिकित्सक संगै निरन्तर काम गर्ने वातावरण बनाउने बताए ।