खाजा खर्च कटाएर विद्यार्थीले जुटाए भविकलाको उपचारमा ४८ हजार

मंगला गाउँपालिका–५ अर्मन छिस्वाङकी ६० बर्षिया भविकला पुर्जाको उपचारमा बावियाचौरस्थित डनिङ आवासीय विद्यालयका विद्यार्थीको सक्रियतामा ४८ हजार २८६ रुपैयाँ सङ्कलन भएको छ । गत शनिबार फुड पोइजनिङ भएर अचेत अवस्थामा उद्धार गरी पोखरामा उपचार भइरहेको पुर्जाको उपचारमा विद्यालयका जुनियर रेडक्रस सर्कलमा आवद्ध रहेका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर भविकलाको उपचारमा आर्थिक अभियान सुरु गरेका थिए।

विद्यार्थीको नेतृत्वमा ३६ हजार ६०२ र शिक्षकबाट ११ हजार ६८४ रुपैयाँ सङ्कलन गरिएको थियो । ‘विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर सहयोगको घोषणा गरे । उनीहरुकै अभियानमा शिक्षकले समेत सहयोग गरे’ प्रधानध्यापक याम थापाले बेनीअनलाइनलाई भने ।

उनका अनुसरा आर्थिक अवस्था कमजोर भएका, बाढीपहिरो पिडितका साथै अन्य सामाजिक क्षेत्रमा समेत विद्यार्थीले सक्रियता देखाउने गरेकाले पनि तत्कालै राहत सङ्कलन हुने गरेको बताए । सङ्कलित रकम विद्यालयका अध्यक्ष नरसिंह केसी, जुरेसका अध्यक्ष जीवन सापकोटा सहित विद्यार्र्थी, शिक्षक लगाएतको उपस्थितीमा भविकलाकी आफन्त औसिया पुर्जालाई हस्तान्तरण गरिएको छ ।

घरमा ढिडोसंगै आलु र भेन्टाको तरकारी खाएलगत्तै पुर्जासंगै माइत आएकी रगुगंगा गाउँपालिका–८ कुइनेमंगलेकी चिना गुरूङ, उनका श्रीमान प्रेम बहादुर र १४ महिनाका छोरा बेहोस भएका थिए । चिना र उनका छोराको उपचारको क्रममा मृत्यु भएको छ भने भविकला र प्रेम बहादुरको उपचार भइरहेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचार बेनीअनलाइनले प्राथमिकताका साथ प्रकाशित गरेको थियो । एकल महिला समेत रहेकी पुर्जाको उपचारमा पश्चिम म्याग्दीको दरवाङ, देविस्थान लगाएतका क्षेत्रबाट समेत सहयोग भएको छ । हरिकृष्ण गौतम