अस्पतालमा पाँच सयको नक्कली नोट भेटियो,बेनीमा नक्कली नोट भित्रिएको आशंका

म्याग्दीको सदरमुकम बेनीस्थित बेनी अस्पतालमा पाँच सयको एक थान नक्कली नोट भेटिएको छ । आइतबार अस्पतालमा सेवा लिन आएका विरामीले नक्कली नोटको प्रयोग गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

‘पाँचसयको नक्कली नोट भेटिएको छ, हामीले अनुसन्धान गरिरहेका छौं’ प्रहरी निरिक्षक दिवाकर घिमिरेले बेनीअनलाइनलाई भने । उनले अस्पतालमा नक्कली नोटको प्रयोग गरिएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको बताए । काउण्टरमा सक्कली नोट भन्दा फरक नोट भेटिएपछि तत्कालै प्रहरीलाई खवर गरिएको थियो ।

सङ्केत नंवर (ख२०) ७६६७४६) भएको नोट फेला परेपछि बजारमान नक्कली नोट भित्रिएको हुनसक्ने अनुमान गरिएको छ । बेनीबजार संगै ग्रामिण क्षेत्रसम्म नक्कली नोटको प्रयोग हुनसक्ने भन्दै नोट खरिद विक्री गर्दा सक्कली र नक्कली नोटको पहिचान गर्न समेत प्रहरीले अनुरोध गरेको छ । विगतमा समेत बेनीमा पाँच सय र एक हजारको नक्कली नोट भेटिएको थियो । भिडभाड हुने ठाउँमा नक्कली नोटको प्रयोग गर्दा पहिचान नहुने भएकाले पनि गिरोहले अस्पताल सहित धेरै चहलपहल हुने क्षेत्रलाई प्रयोग गर्न सक्ने अनुमान समेत गरिएको छ ।

नक्कली नोट यसरी पत्ता लगाउन सकिन्छ
– सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खड खड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ ।
– सक्कली नोटको कागज स्तरीय, अलि खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो, लुलो र मोटो हुन्छ । जाली नोट सक्कली नोट जस्तो चहकिलो पनि हुँदैन ।
– सक्कली नोटको रंग स्पष्ट र सफा गाढा हुन्छ भने जाली नोट हल्का, अस्पष्ट र फुङ्ग उडेको जस्तो देखिन्छ ।
– सक्कली नोटलाई उज्यालो तिर फर्काएर हेरेमा नोटको दायातर्फ रहेको भागमा पानी छाप स्पस्ट देखिन्छ भने जलि नोटमा केही कालो दले जस्तो अस्पष्ट देखिन्छ ।
– सक्कली नोटमा रहेको सुरक्षा धागो नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ भने नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।
– नोटको दायातर्फ रहेको सेतो भागको बायातर्फ भएको रंगीन आधा अक्षर नेपाल राष्ट्र बैंकलाई उज्यालोतर्फ फर्काएर हेर्दा नेपाल राष्ट्र बैंक स्पष्ट देखिन्छ भने जाली नोटमा सो अक्षर स्पष्ट देखिँदैन ।
– सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाबाया पार्दा एउटा छुटै चहक आउछ भने जाली नोटमा यस्तो हुँदैन