यस्तो छ म्याग्दीमा एमाले–राप्रपा चुनावी तालमेल

म्याग्दीको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी विच मनोनयन दर्ताको अन्तिम समयमा चुनावी तालमेल भएको छ । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा सहकार्य गर्ने गरी दुवै पार्टी विच चुनावी तालमेल भएको राप्रपाका जिल्ला अध्यक्ष विर बहादुर थापाले बताए । ‘५ बुँदे सहमति गरिएको छ, सहकार्यलाई प्रभावकारी बनाउनेछौ’ उनले भने ।सहमति अनुसार बेनी नगरपालिका २ र ७ वडामा वडा सदस्य र रघुगंगा गाउँपालिकाको पाखापानीमा वडा अध्यक्षमा एमालेले सर्मथन गर्नेछ ।

मंगलबार एमालेको तर्फबाट मेयरमा प्रमोद श्रेष्ठ, राप्रपाको तर्फबाट उपप्रमुखमा सञ्जु बरुवालले मनोनयन दर्ता गरेकी छन् । बेनी नगरपालिका भित्रको वडा नम्बर १ र बरंजामा भने दुवै पार्टीले अलग अलग प्रतिस्पर्धा गर्ने सहमति समेत भएको जनाइएको छ। राप्रपाले बेनी नगरपालिका भित्र आफ्नो करिव २ हजार मतदाता रहेको दावी गदै आइरहेको छ । ०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभाको निर्वाचनमा राप्रपाबाट उम्मेदवारी दिएका पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनले ३४ सय प्राप्त गरेका थिए।

नेपाली कांग्रेस र माओवादी केन्द्र विचको तालमेल भएपछि एमालेले राप्रपाको मतलाई आफ्नो पक्षमा पार्ने चुनावी तालमेल गरेको जनाएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी र एमाले, राप्रपा विचको चुनावी तालमेलले चुनावी परिणाम कस्तो पक्षमा जान्छ भन्ने अवस्था छैन् । राप्रपाको तुलनामा माओवादी केन्द्रको अवस्था बलियो मानिन्छ । बेनी नगरपालिकामा पुरुष ८ हजार ५०३, महिला ९ हजार ८४२ कुल १८ हजार ३४५ मतदाता रहेका छन् ।