रमेश रेग्मी
बागलुङ माघ २५
जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण समयमा पानी पर्न नसक्दा बागलुङका कृषकहरु मर्कामा परेका छन् ।
आकाशे पानीको भरमा खेती किसान गर्दै आएका बागलुङका कृषकहरुले यसवर्षहिउँदमा आकाशबाट पानी नपरेपछि उनीहरुले लगाएको गहुँ, केराउ समेत प्रभावित भएको छ ।
सिंचाईको सुविधा नभएको, आकाशे पानीको भरमा खेती गर्नुपर्ने कृषकहरुले लगाएको गहुँ, केराउको उत्पादनमा यो वर्ष४० प्रतिशत भन्दा बढी कमी आउने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जलवायु परिवर्तनको प्रभाव बिस्तारै अहिले कृषकले लगाएको केरा खेतीमा पनि देखिन थालेको छ । केराको बोटमा यो वर्षकेरा पनि धेरै नफलेको, केराको बोटहरु सुक्दै गएको कारण अहिले कृषकहरु निन्तित हुन थालेका छन् ।
जलवायु परिवर्तनको केही प्रभाव अहिले देखिए पनि त्यसको निश्चित मापन भने नभएको कारण सिंचाई सुविधा नभएको ठाउँमा जग्गा हेरेर खेती गरेमात्र कृषकको लगानी खेर नजाने कृषि विकास प्रमुख होमराज बिष्ट बताउनुहुन्छ ।
पानी नपरेको कारण यो वर्षबागलुङ जिल्लामा गहुँ उत्पादनमा कमी आउने निश्चित छ । सरकारले कृषकको लागि कृषि बिमा र सिंचाईको व्यवस्था गर्ने नीति बनाएमा ग्रामीण क्षेत्रका कृषकले केही भएपनि राहत पाउने थिए ।
